१२ कार्तिक २०८३, बुधबार

बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी

28
काठमाडौँ, कात्तिक ८ — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको मौसममा उल्लेखनीय फेरबदल आउने चेतावनी दिएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने गरेको छ। आगामी कात्तिक ११ गतेसम्म देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहने भए पनि कात्तिक १२ गते (बिहीबार) देखि भने देशव्यापी रूपमा वर्षा र हिमपातको सम्भावना बढेको छ।
महाशाखाका अनुसार विशेष गरी कात्तिक १२ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ। यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपातको समेत प्रबल सम्भावना रहेको छ।
यस किसिमको मौसमी प्रणालीका कारण बाढी, पहिरो, भू-क्षय तथा गेग्रान बहाव जस्ता प्रकोपहरूको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसम विभागको पछिल्लो सूचनासँग सधैँ अद्यावधिक रहन सबैमा विशेष अनुरोध गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.