पशुपति क्षेत्र विकास कोषका आन्दोलनरत कर्मचारीको माग बेवास्ता, आज अन्तिम चेतावनीको दिन
काठमाडौं । पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको भन्दै पशुपति क्षेत्र विकास कोषका आन्दोलनरत कर्मचारीले असन्तुष्टि जनाएका छन्। माग सम्बोधनका लागि कोषका सदस्यसचिवसमक्ष लिखित रुपमा आग्रह गर्दा पनि बेवास्ता गरिएको आन्दोलनरत कर्मचारीहरूले बताएका छन्।

लामो समयदेखि सेवा स्थायित्व र सेवा–सुविधाको माग उठाउँदै आए पनि कोष नेतृत्वले गम्भीरतापूर्वक नलिएको उनीहरूको आरोप छ। कर्मचारीहरूले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोष तथा बिमालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
त्यस्तै, सबै प्रकृतिका कर्मचारीलाई समेटेर हाजिरीको व्यवस्था मिलाउन र श्रम ऐन तथा नियमावलीअनुसार सेवा–सुविधा सुनिश्चित गर्न पनि उनीहरूले माग गरेका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि कर्मचारीहरू थप आक्रोशित बनेका छन्।

आन्दोलनरत कर्मचारीले आफ्ना मागलाई अब पनि बेवास्ता गरिए चरणबद्ध रूपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरूले हातमा कालोपट्टी बाँध्ने र पेन डाउनदेखि गेटमा धर्ना, कार्यालय प्रवेशमा रोक तथा तालाबन्दीसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्। कर्मचारीका मागप्रति कोष नेतृत्वले तत्काल जवाफ नदिए सेवा प्रवाहमा थप असर पर्न सक्ने देखिएको छ।
