गैरआवासीय नेपालीद्वारा परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ सहयोग
काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली (एनआरएन) उत्तम नेपालले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, बेलायतमै बस्ने गैरआवासीय नेपाली कुल आचार्यले मन्त्रालयलाई डीएनए परीक्षण किट हस्तान्तरण गरेका छन्।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालबाट प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षण किट ग्रहण गरेका हुन्।
सो अवसरमा मन्त्री खनालले दुवै सहयोगदाताप्रति आभार व्यक्त गर्दै प्राप्त आर्थिक सहायता र डीएनए परीक्षण किटले सरकारको अनुसन्धान तथा डीएनए परीक्षणसम्बन्धी क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।