खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।
पार्टीले सञ्चारमाध्यममा सार्वजनिक भएका महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर रूपमा लिएको जनाएको छ। यस विषयमा केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिइएको छ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ। अनुसन्धान तथा आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।