युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य
काठमाडौँ, २३ असोज । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उहाँले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो।
उहाँले सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा पुर्याउन सकिने उल्लेख गर्दै सरकारले डिजिटल पहुँच विस्तार, सेवाको गुणस्तर सुधार र यसै वर्ष फाइभ-जी सेवा सुरु गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी उपयोगबाट सरकारी सेवा, उत्पादन तथा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा योगदान पुग्ने बताउनुभयो। उहाँले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो।