१२ कार्तिक २०८३, बुधबार

विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, उच्च तहका कर्मचारीको बढुवा

75

काठमाडौं – मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तथा उच्च तहका कर्मचारीको बढुवालगायतका महत्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस गरिएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णयसमेत गरेको छ। त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति प्रदान गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले विभिन्न सेवाका उच्च तहका कर्मचारीको बढुवासम्बन्धी निर्णय पनि गरेको छ। जसअनुसार सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।

त्यसैगरी, सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

नेपाल लेखापरीक्षण सेवा, समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने भएका छन्।

Author

Leave A Reply

Your email address will not be published.