सञ्चार मन्त्रालय र मातहतका निकायसँग कार्यसम्पादन सम्झौता
काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
सोही अवसरमा सञ्चार मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग पनि कार्यसम्पादन सम्झौता गरिएको छ।
सम्झौताको क्रममा मन्त्री तिमिल्सिनाले कार्यसम्पादन सम्झौतालाई औपचारिकतामा सीमित नगरी तोकिएको समयभित्र लक्ष्य पूरा गर्नुपर्ने महत्वपूर्ण आधारका रूपमा लिन आग्रह गरे। उनले सुशासनमा सरकारले शून्य सहनशीलताको नीति लिएको भन्दै सबै पदाधिकारी र कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही भएर काम गर्न निर्देशन दिए।
सञ्चारसचिव पौडेलले सम्झौतामा उल्लेखित लक्ष्य र सूचकअनुसार परिणाम हासिल गर्न सबै निकाय प्रतिबद्ध भएर अघि बढ्नुपर्ने बताए।
कार्यसम्पादन सम्झौतामा सञ्चार पूर्वाधार विस्तार, डिजिटल पहुँच वृद्धि, दूरसञ्चार सेवाको गुणस्तर सुधार, सार्वजनिक सेवा प्रवाह तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।