दिवंगत सदस्यको परिवारलाई महिला लघुवित्तको ८ लाख ८० हजारको सहारा
२०८२ साउन २३ गते शुक्रबार, काठमाडौं।
महिला लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्यको निधनपछि उनको परिवारलाई आर्थिक सहारा प्रदान गर्दै एक उदाहरणीय कार्य गरेको छ । संस्थाले ललितपुरको गोदावरी नगरपालिका-७, बुरुन्चुलीकी आफ्नी स्वर्गीय सदस्य ठूली तामाङको परिवारलाई कर्जा बिमाबापत ८ लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

चापागाउँ शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मथुरा प्रसाद शर्माको उपस्थितिमा हिजो बिहिबार उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफ्नो कार्यकालमा कुनै पनि वित्तीय संस्थाबाट यति ठूलो रकम यस वडा प्रदान गरिएको यो पहिलो घटना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कार्य अत्यन्तै उदाहरणीय छ । सदस्यको दुःखमा समेत साथ दिएर परिवारलाई आर्थिक सहयोग गरेकोमा म संस्थालाई धन्यवाद दिन चाहन्छु ।” अध्यक्ष शर्माले बिनाधितो कर्जा प्रवाह गरी ग्रामीण महिलालाई स्वरोजगार बनाउन लघुवित्तले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका बागमती प्रदेश प्रमुख सुनिल अर्यालले न्यूनतम प्रिमियममा सदस्यको परिवारले यति ठूलो आर्थिक सहारा पाउनु लघुवित्तको सामाजिक उत्तरदायित्वको एक महत्वपूर्ण पाटो भएको बताउनुभयो ।
उहाँले हाल केही अराजक व्यक्ति र राजनीतिक उद्देश्य बोकेका समूहले लघुवित्तजस्तो पवित्र संस्थामाथि चौतर्फी आक्रमण गरिरहेकोप्रति दुःख व्यक्त गर्नुभयो । “यस्ता बदनियतपूर्ण हल्लाले दूरदराजका सोझा दिदीबहिनीहरूले सहजै पाउने कर्जामाथि नै समस्या सिर्जना गरिरहेको छ” उहाँले भन्नुभयो ।

त्यसैले, बाहिर सुनेका हल्लाका पछि नलागी, महिला लघुवित्त आफ्ना सदस्यहरूको सुख-दुःखका साथमा रहेको कुरामा ढुक्क भएर कर्जा र बचतको कारोबार निरन्तर गर्न उहाँले सम्पूर्ण सदस्य र उनीहरूका अभिभावकलाई आग्रह समेत गर्नुभयो ।