सवारी दर्ता र नामसारीका लागि धनी स्वयं उपस्थित हुन नपर्ने
काठमाडौं । अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै दर्ता तथा नामसारी प्रक्रिया सहज बनाइएको हो। संशोधित व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी जाँचलाई मान्यता दिइनेछ भने सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सक्नेछ।
त्यस्तै, सवारी बीमा तथा नवीकरणका लागि धनी स्वयं उपस्थित हुनुपर्ने छैन। नामसारीका क्रममा बायोमेट्रिक विवरण लिन सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।
पूर्वाधार विकास मन्त्रालयले यी संशोधनले यातायात सेवा सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ।