३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी: राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको आग्रह, कांग्रेसका कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन

33

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रसुवामा आज बिहान आएको अप्रत्यासित र आकस्मिक बाढीले स्थिति गम्भीर र चिन्ताजनक बनाएको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै महामन्त्री थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय गरी उद्धार र राहत कार्यमा केन्द्रित हुन अनुरोध गर्नुभएको छ। विपद् व्यवस्थापनका लागि सरकारले गर्ने प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।

पाँच जिल्लाका कार्यकर्तालाई खटिन निर्देशन
थापाले विशेषगरी बाढी प्रभावित र जोखिममा रहेका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नेपाली कांग्रेसका समितिहरू र सदस्यहरूलाई तत्काल उद्धारमा जुट्न निर्देशन दिनुभएको छ। उहाँले तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरूलाई सुरक्षित स्थानमा सार्न र राहत कार्यमा सक्रिय भूमिका खेल्न पार्टीका सबै तहका नेतृत्वलाई अपिल गर्नुभएको हो।

उच्च सतर्कता अपनाउन अपिल
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको भन्दै उहाँले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्नुभएको छ।

विपद्को यस समयमा नागरिकको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले सबैलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गर्नुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.