३० भाद्र २०८३, मंगलवार

सघन उपचार कक्षभित्र अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको चासो, अस्पताल र मेडिकल काउन्सिललाई पत्राचार

16
काठमाडौँ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीहरूसँग अन्तर्वार्ता लिएर सामग्री प्रसारण गरिएका घटनाहरूप्रति प्रेस काउन्सिल नेपालले गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलले रसुवा बाढीका घाइतेसँग ‘इनसाइड द बंकर’ युट्युब च्यानलले लिएको अन्तर्वार्ता र सगरमाथामा उद्धार गरिएका पथप्रदर्शकको उपचारकै क्रममा बीबीसी नेपालीले प्रसारण गरेको अन्तर्वार्तालाई पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन गरिरहेको जनाएको छ।
सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता लिने स्थान नभएको उल्लेख गर्दै काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई पत्रकारले गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। यसै विषयलाई लिएर काउन्सिलले सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिलसँग स्पष्टीकरण तथा आवश्यक जानकारी माग गर्दै पत्राचार गरेको छ।
अस्पताल प्रशासन, बिरामी र उनीहरूका परिवारको स्वीकृति लिएर मात्रै अन्तर्वार्ता लिइएको हो वा होइन भन्नेबारे सम्बन्धित अस्पतालहरूसँग जानकारी मागिएको छ। साथै, आईसीयूभित्र सञ्चारकर्मीको प्रवेश अनुमति हुने वा नहुने कानुनी तथा प्राविधिक व्यवस्थाबारे जानकारी दिन नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिएको छ। अध्ययन तथा अनुगमनपछि आवश्यक देखिएमा काउन्सिलले पत्रकार आचारसंहिता अनुसार थप कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.