अवैध भेपसहित काठमाडौंबाट चार जना पक्राउ
काठमाडौं: उपत्यकाका विभिन्न स्थानमा अवैध रूपमा भण्डारण तथा बिक्रीवितरण भइरहेको २ हजार ७ सय ७० थान विद्युतीय चुरोट (भेप) सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङका पूर्णलाल श्रेष्ठ (४५), शुभम गुप्ता (२७), रामेछापका राजन मोक्तान (१९) र काभ्रेका सक्षम श्रेष्ठ (१९) रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा छापा मारेर उक्त परिमाणको भेप बरामद गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।