बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिइँदैन: प्रधानमन्त्री वालेन्द्र शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलका क्रममा उहाँले सरकारसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत-साधनको पूर्ण प्रयोग गरी पुनःस्थापनाको काम गरिने बताउनुभयो। विपद्को समयमा सङ्घ, प्रदेश र स्थानीय तह एकै ठाउँमा उभिएर मिलेर काम गरेकोमा खुसी व्यक्त गर्दै उहाँले सडक सञ्जाल चाँडै सञ्चालनमा ल्याउन निरन्तर काम भइरहेको उल्लेख गर्नुभयो।
बाढीप्रभावित नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएकाले नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक बस्ती व्यवस्थापन गर्ने तयारी सरकारले सुरु गरेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। नयाँ बस्ती बसाउँदा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिइने स्पष्ट पार्दै उहाँले खेतीयोग्य जमिन जोगाएर उपयुक्त जग्गा पहिचान गरी सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। आजको छलफलले प्रभावित क्षेत्रको वास्तविक वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको मनोबल उच्च राख्न सहयोग पुगेको उहाँको भनाइ थियो।