३० भाद्र २०८३, मंगलवार

भोटेकोशी विपद्: जलविद्युत् आयोजना रोक्ने होइन, निर्माण शैली बदल्ने समय

12
काठमाडौँ: भोटेकोशीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासमा ठूलो मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याउनुका साथै निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत् आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्‍याएको छ। प्रकृतिका आधारमा इन्जिनियरिङ भाषामा ‘One in Thousand Years Flood’ अर्थात हजार वर्षमा एकपटक आउन सक्ने यो चरम बाढीका कारण जलविद्युत् विकासको यात्रा रोक्न नहुनेमा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले जोड दिनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विपत्तिबाट हतोत्साहित हुनुको सट्टा पाठ सिकेर अझ सुरक्षित, आधुनिक र दिगो पूर्वाधार निर्माणतर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ।
सांसद न्यौपानेका अनुसार अब जलविद्युत् आयोजना निर्माण गर्दा सरकारले हिमाली तथा पहाडी भूगोल सुहाउँदो स्पष्ट ‘टनेल कन्स्ट्रक्सन स्ट्यान्डर्ड’ तत्काल बनाउनुपर्छ। बाँध र प्रसारण लाइन बाहेक अन्य संरचना सम्भव भएसम्म भूमिगत बनाउने, सुरुङका मुखमा आपतकालीन फलामे ढोका राख्ने र प्रवेशद्वारहरू नदीको बहावविपरीत कम्तीमा ३ देखि ७ प्रतिशत उकालो हुने गरी डिजाइन गर्नुपर्ने उहाँको सुझाव छ। साथै, पावरहाउसलाई स्वचालित (SCADA) प्रणालीमा लैजाँदै त्यहाँ कार्यरत कर्मचारीका लागि कम्तीमा ३० दिन पुग्ने खाद्यान्न, अक्सिजन तथा आपतकालीन सञ्चारको व्यवस्था गरिनुपर्छ।
बाँधको डिजाइन ‘हिमालयन इन्टेक’ अवधारणा अनुसार लेदो तथा ठूला चट्टान सुरक्षित रूपमा पार हुने गरी गर्नुपर्ने र लाइसेन्स, वातावरणीय स्वीकृति तथा रुख कटान जस्ता प्रशासनिक झन्झट हटाएर १–२ वर्षभित्रै आयोजना निर्माणमा जान सकिने नीतिगत व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। जलवायु परिवर्तन र वातावरणीय जोखिमलाई बेवास्ता नगरी प्रविधि सुधार र जोखिम न्यूनीकरण गर्दै नेपालको जलस्रोतलाई ऊर्जामा रूपान्तरण गर्ने अभियानलाई अझ तीव्र बनाउनुपर्ने न्यौपानेको भनाइ छ।

Author

Leave A Reply

Your email address will not be published.