भोटेकोशी बाढी: प्रधानमन्त्री वालेन्द्र शाहद्वारा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल सुरु
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको छ। बैठक मुख्यगरी प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा गर्न, वर्तमान स्थितिको आकलन गर्न, तत्काल चाल्नुपर्ने कदम र आगामी पुनरुत्थानका विषयमा केन्द्रित छ।
छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र अच्युतम लामिछानेका साथै विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीको उपस्थिति रहेको छ। त्यसैगरी रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ प्रत्यक्ष सहभागी हुनुभएको छ भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले अनलाइनमार्फत सहभागिता जनाउनुभएको छ।
यस्तै, धादिङका गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) पनि छलफलमा हुनुहुन्छ। तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) समेत बैठकमा सहभागी भई आ-आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी गराइरहनुभएको छ।