कुमार बेनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न जेनजी मुभमेन्टको माग
काठमाडौँ, भदौ २६। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। संगठनका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्य अनुसार बेनमाथि कल बाइपास तथा विदेशी जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको गम्भीर आरोप लागेकाले उनलाई सरकारी जिम्मेवारीबाट अलग गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग गरिएको छ।
संवेदनशील पदमा रहेका व्यक्तिमाथि प्रश्न उठ्दा पद र पहुँचका आधारमा उन्मुक्ति दिन नहुने भन्दै संगठनले उनको शैक्षिक योग्यता, नियुक्ति र राज्यमन्त्रीस्तरको सुविधाबारे पनि स्पष्टता मागेको छ। राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएको विषय भन्दै जेनजी मुभमेन्टले यस वक्तव्यको बोधार्थ राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय र नेपाली सेनाको मुख्यालयलाई समेत पठाएको छ।