भोटेकोशी बाढी: मृतकको संख्या १,३८३ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौँ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ८३ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान ८:०० बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ८२ जनाको शव फेला परेको हो।
प्राप्त विवरण अनुसार सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
शव पहिचानका लागि डिएनए संकलन
फेला परेका शवहरूको पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय १५ गरी कुल ३ हजार १ वटा डिएनए नमुना संकलन गरिएको छ। पहिचान नभएका १ हजार ३ सय ३२ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ भने हालसम्म १ हजार १ सय ६० वटा शवको कानुनी प्रक्रिया पूरा गरी सुरक्षित व्यवस्थापन गरिएको छ।
खोजी र उद्धार तीव्र
बाढीमा परी अझै ४ हजार ८९ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै विस्थापित भएका ३ हजार १ सय ७६ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा राखिएको छ।