नेपाल हुलाकलाई अन्तर्राष्ट्रिय ‘एपीपीयू इनोभेसन अवार्ड’ प्रदान
काठमाडौँ: नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको उत्कृष्ट सेवाको कदरस्वरूप अन्तर्राष्ट्रिय स्तरको ‘एपीपीयू इनोभेसन अवार्ड’ प्राप्त गरेको छ। थाइल्याण्डको बैंककमा आयोजित एसिया प्रशान्त हुलाक संघ (एपीपीयू) को १४औँ कंग्रेसका क्रममा नेपाललाई यो सम्मान प्रदान गरिएको हो।

सरकारी कुरियर सेवाका रूपमा दुर्गम क्षेत्रमा समेत राहदानी, सवारी चालक अनुमतिपत्र (Liscence), शैक्षिक प्रमाणपत्र र स्वास्थ्य रिपोर्ट जस्ता महत्वपूर्ण कागजात नागरिकको घरदैलोसम्म पुर्याएको भन्दै नेपाललाई ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा यो अवार्ड दिइएको हो।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार, सरकारले हुलाकलाई परम्परागत शैलीबाट आधुनिक ‘सरकारी कुरियर सेवा’मा रूपान्तरण गर्ने नीति लिएसँगै यो सफलता मिलेको हो। ३२ राष्ट्र सहभागी उक्त कंग्रेसमा नेपालले हुलाकको आधुनिकीकरण, विद्युतीय व्यापार (E-commerce) र विपद्का समयमा हुलाकको भूमिकाबारे आफ्नो धारणा राखेको थियो।
नेपालले अब हुलाक सञ्जाललाई स्थानीय उत्पादनको ढुवानी र अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि प्रविधि हस्तान्तरण र कर्मचारीको क्षमता विकासमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतासमेत औँल्याइएको छ।