भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ करोड सहयोग गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
प्राधिकरणका पदाधिकारी र कर्मचारीको पनि आर्थिक योगदान
संस्थागत सहयोगका अलावा प्राधिकरणका पदाधिकारी तथा कर्मचारीहरूले पनि आफ्नो पारिश्रमिक र भत्ताबाट आर्थिक योगदान गर्ने निर्णय गरेका छन्:
-
अध्यक्ष र बोर्ड सदस्य: अध्यक्षले १० दिनको तलब र २ वटा बोर्ड बैठक भत्ता तथा बोर्ड सदस्यहरूले २ वटा बोर्ड बैठक भत्ता योगदान गर्नेछन्।
-
अधिकृतस्तरका कर्मचारी: प्रथम श्रेणीले ८ दिन, द्वितीय श्रेणीले ६ दिन र तृतीय श्रेणीले ४ दिन बराबरको सुरु तलब योगदान गर्नेछन्।
-
सहायक तथा श्रेणीविहीन कर्मचारी: सहायकस्तरले २ दिन र श्रेणीविहीन कर्मचारीले १ दिनको तलब योगदान गर्नेछन्।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिन पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिइएको छ। साथै, दूरसञ्चार सेवा प्रदायकहरूलाई पनि प्रभावित क्षेत्रमा यथाशक्य सहयोग र सेवा सुचारु राख्न आग्रह गरिएको छ।