३० भाद्र २०८३, मंगलवार

रसुवा बाढी: उद्धार र राहतमा सक्रिय हुन नेता–कार्यकर्तालाई रवि लामिछानेको निर्देशन

34

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण उत्पन्न विपद्प्रति चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ।

आज एक अपिल जारी गर्दै सभापति लामिछानेले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिनुभएको हो।

हल्ला र अफवाह नफैलाउन आग्रह
विपद्को समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना र अफवाहले उद्धार कार्यमा बाधा पुर्‍याउने र नागरिकमा त्रास फैलाउने भन्दै उहाँले सचेत गराउनुभएको छ। लामिछानेले भन्नुभएको छ, “आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाऔँ। एउटा गलत सूचनाले उद्धार कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ।”

सुरक्षा सतर्कता अपनाउन अपिल
बाढीको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान र प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ। जोखिमपूर्ण क्षेत्रमा नबस्न र संयमित भएर एकअर्कालाई सहयोग गर्न पनि उहाँको अपिल छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सभापति लामिछानेले सबैको एउटै प्राथमिकता नागरिकको जीवनरक्षा र मानवीय सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ।

Author

Leave A Reply

Your email address will not be published.