३० भाद्र २०८३, मंगलवार

रसुवाको स्याफ्रुबेँसी र टिमुरेमा बाढीको वितण्डा: प्रधानमन्त्रीको निर्देशनमा उद्धार र राहत कार्य तीव्र

23

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान आएको भीषण बाढीका कारण जनजीवन प्रभावित भएपछि सरकारले उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएको छ। बाढीले धनजनको क्षति पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धारमा खटिन निर्देशन दिएपछि सरकारी संयन्त्रहरू युद्धस्तरमा परिचालन भएका हुन्।

सुरक्षा निकाय र हेलिकप्टर परिचालन
प्रधानमन्त्रीको निर्देशन लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बाढीग्रस्त क्षेत्रमा खटिएका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। यस्तै, आपत्कालीन अवस्थाका लागि निजी कम्पनीका हेलिकप्टरहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।

सडक अवरुद्ध र सुरक्षा सतर्कता
बाढी र पहिरोको जोखिमका कारण सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक र मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रा नगर्न र नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ भने स्थानीय प्रशासनले निरन्तर सूचना प्रवाह गरिरहेको छ।

उच्चस्तरीय बैठक र रणनीति
विपद्को अवस्थाबारे छलफल गर्न र आगामी रणनीति तय गर्न अहिले सिंहदरबारमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ।

यसैबिच, प्रधानमन्त्री वालेन्द्र शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’को बैठक बोलाउनुभएको छ। उक्त बैठकले बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन राहत र पुनर्स्थापनाका योजनाबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ।

जिल्लास्थित विपद् प्राधिकरणले आफ्नो सक्रियता बढाउँदै स्थानीय स्तरमा समन्वय गरिरहेको छ। प्रभावित क्षेत्रमा थप जनशक्ति र राहत सामग्री पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.