१२ श्रावण २०८३, मंगलवार

अव्यवस्थित तार हटाउने कार्यको दुई मन्त्रीद्वारा अनुगमन, ढिलासुस्ती गर्नेलाई कारबाहीको चेतावनी

3

काठमाडौँ, 12  साउन । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा पुगेर अव्यवस्थित तार व्यवस्थापन कार्यको संयुक्त अनुगमन गर्नुभएको छ। मन्त्रीद्वयले गौशाला, पुरानो बानेश्वर र जडीबुटी क्षेत्रमा भइरहेको तार हटाउने कामको निरीक्षण गर्नुभएको हो।

अनुगमनका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले साउन १५ भित्र काम सक्ने प्रतिबद्धता भए पनि प्रगति अपेक्षित नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले निर्धारित समयमा परिणाम नदिने निकाय वा व्यक्तिलाई कारबाही गरिने चेतावनी दिँदै सेवा प्रदायकहरूलाई आ-आफ्ना तार व्यवस्थापन गर्न निर्देशन दिनुभयो। यस्तै, ऊर्जामन्त्री श्रेष्ठले सहरी सौन्दर्य र सुरक्षाका लागि यो अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल दूरसञ्चार प्राधिकरणले वर्षा र प्राविधिक कठिनाइका कारण केही ढिलाइ भएको जानकारी दिँदै अबको १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। सरकारले पहिलो चरणमा त्रिपुरेश्वर, कलङ्की, लाजिम्पाट, चाबहिल लगायतका ६ वटा मुख्य रुटमा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.