सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, अनसन अन्त्य
काठमाडौँ, 12 साउन । सरकार र अनसनरत डा. गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले बिहीबार आफ्नो अनसन अन्त्य गर्नुभएको छ।
सरकारी वार्ता टोली र डा. केसीबीच भएको सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाइनेछ। उक्त विश्वविद्यालयको ऐन संशोधन प्रक्रिया ३ महिनाभित्र अघि बढाउन सरकार सहमत भएको छ।
सहमतिमा निजी मेडिकल कलेजको सिट संख्या नबढाउने, चिकित्सा शिक्षण संस्थालाई गैर–नाफामूलक बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र २०४६ सालयताका उच्च पदस्थ व्यक्तिहरूको भ्रष्टाचार छानबिनलाई तदारुकता दिने उल्लेख छ। साथै, विगतका सहमतिहरूको कार्यान्वयन अनुगमनका लागि प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा एक समिति समेत गठन गरिने भएको छ।
