प्राङ्गारिक मल प्रयोग गर्न मन्त्री चौधरीको आग्रह, धनुषाका कृषि परियोजनाको निरीक्षण
धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले धनुषाका किसानहरूको घरदैलोमा पुगेर माटोको उर्वराशक्ति बचाउन प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुभएको छ।
जिल्लाका विभिन्न स्थानको भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिकामा महिलाहरूद्वारा सञ्चालित ‘कस्टम हायरिङ सेन्टर’, बटेश्वरको व्यावसायिक माछापालन र चित्रनगरको आँप बगैंचाको अवलोकन गर्नुभयो। “माटो सुधार नै कृषि सुधारको आधार हो,” भन्दै उहाँले स्थानीय स्रोतबाट बनेका गोठे र प्राङ्गारिक मलको प्रयोगले रासायनिक मलमाथिको निर्भरता घटाउने र माटोको दीर्घकालीन सुधार हुने बताउनुभयो।
निरीक्षणका क्रममा उहाँले आधुनिक कृषि उपकरणको प्रयोग र व्यावसायिक कृषि प्रणालीमा लागेका किसानहरूलाई हौसला समेत प्रदान गर्नुभएको छ।