असार ३२ सम्मको विद्युत खपतमा भ्याट नलाग्ने, साउन १ देखि नयाँ दर लागू हुने
काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ साल असार मसान्तसम्म खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा भ्याट लगाउने व्यवस्था गरेपछि उपभोक्तामाझ देखिएको अन्योल चिर्दै विभागले यस्तो प्रष्टीकरण दिएको हो।
विभागका अनुसार कुनै उपभोक्ताको असार ३२ गतेसम्मको विद्युत खपतको बिल साउन १ गते वा सोभन्दा पछि काटिए पनि त्यसमा भ्याट लाग्ने छैन। साउन १ गतेभन्दा अगाडिको खपतलाई ‘आधारभूत आवश्यकता’ अन्तर्गत कर छुट दिइएकाले त्यस्तो खपतमा कर आकर्षित नहुने सूचनामा उल्लेख छ।
तर, साउन १ गतेदेखि हुने खपतमा भने नयाँ नियम अनुसार कर लाग्नेछ। जसअनुसार अन्तिम उपभोक्ताले ५ प्रतिशत र अन्यको हकमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ। साथै, साउन १ गतेदेखि हुने विद्युत खपतको न्यूनतम शुल्क (Minimum Charge) वा डिमाण्ड चार्ज (Demand Charge) मा पनि भ्याट लाग्ने विभागले जनाएको छ।