अनुमतिबिना विज्ञापन प्रसारण गरे कारबाही हुने, विज्ञापन बोर्डद्वारा सामग्री परीक्षण अनिवार्य
काठमाडौँ । विज्ञापन बोर्डले प्रचलित कानुन बमोजिम अनुमति नलिई र मापदण्ड नपुर्याई विज्ञापन प्रसारण नगर्न कडा निर्देशन दिएको छ। बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै नेपालमा प्रसारण हुने श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्रीहरू प्रसारण गर्नुपूर्व बोर्डबाट अनिवार्य परीक्षण गराई अनुमति लिनुपर्ने व्यवस्था सम्झाएको हो।
हाल विभिन्न सञ्चारमाध्यममा विज्ञापनदाताको नाम, ठेगाना र चेतावनीमूलक सन्देश नभएका, तथ्यहीन, अतिरञ्जित तथा उपभोक्तालाई भ्रममा पार्ने विज्ञापनहरू प्रसारण भइरहेको पाइएपछि बोर्डले यस्तो कदम चालेको हो। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र नियमावली, २०७७ को व्यवस्था अनुसार बोर्डले ‘विज्ञापन सामग्री परीक्षण सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याएको छ।
बोर्डले हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका विज्ञापनहरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न र कानुन विपरीतका सामग्रीहरू अविलम्ब हटाउन निर्देशन दिएको छ। बोर्डको निर्देशन पालना नगरेमा र कानुनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने बोर्डले चेतावनी समेत दिएको छ।
