महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, ३६ घण्टासम्म धौलीगङ्गा बाँधको ढोका खोलिने
बैतडी, १२ साउन । भारतको धौलीगङ्गा पावर स्टेसनको बाँध सरसफाइका लागि खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।
प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १४ गते बिहीबार अपराह्न ६ बजेसम्म (करीब ३६ घण्टा) बाँध खोलिने जानकारी दिएको छ। धौलीगङ्गा पावर स्टेसनको ‘सिल्ट’ (बालुवा र लेदो) सरसफाइका लागि बाँधका ढोकाहरू खोलिन लागिएको हो।
बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर एक्कासि बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई आवश्यक पूर्व सतर्कता अपनाउन र सुरक्षित रहन सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले अनुरोध गर्नुभएको छ।
