१३ श्रावण २०८३, बुधबार

सुनसरी घटना: सिडिओ र सुरक्षा प्रमुखहरूको सामूहिक सरुवा, छानबिन समिति गठन

6

सुनसरी सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।

मन्त्रालयले सुनसरीका सिडिओ बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सिडिओ इश्वरीप्रसाद अर्याललाई खटाएको छ। यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवे र सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीको पनि सरुवा गरिएको छ। थेवेको ठाउँमा पुष्पराज मल्ल र कार्कीको ठाउँमा लवकुमार सापकोटालाई जिम्मेवारी दिइएको छ। साथै, कप्तानगञ्जमा कार्यरत सशस्त्रका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाई मदन नाथलाई पठाइएको छ।

देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने १० जना प्रहरीसहित २४ जना घाइते भएका थिए। घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ, जसले एक साताभित्र प्रतिवेदन बुझाउनेछ।

अवस्थालाई नियन्त्रणमा लिन प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.