रोपाइँको सिजनमा मल आपूर्ति सहज बनाइँदै, १ लाख ४० हजार मेट्रिक टनभन्दा बढी मल कोलकातामा
काठमाडौँ । धान रोपाइँको मुख्य मौसममा रासायनिक मलको माग बढेसँगै सरकारले आपूर्ति प्रक्रियालाई तीव्रता दिएको छ। पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण आयातमा चुनौती देखिए पनि ग्लोबल टेन्डर र भारतसँगको जीटुजी (G2G) सम्झौतामार्फत ठूलो परिमाणमा मल ल्याइएको हो।
कृषि सामग्री कम्पनीका अनुसार असारमा ६० हजार मेट्रिक टन (३० हजार डिएपी र ३० हजार युरिया) कोलकाता आइपुगेको थियो। साउनको पहिलो र दोस्रो हप्तामा थप ८० हजार मेट्रिक टन (२० हजार डिएपी र ६० हजार युरिया) कोलकाता आइपुगेको छ।
हालसम्म ४,९५० मेट्रिक टन डिएपी र ७०० मेट्रिक टन युरिया नेपाल भित्रिसकेको छ भने थप ५ हजार मेट्रिक टन मल बोकेका दुईवटा रेलवे र्याक भोलिसम्म नेपाल आइपुग्नेछन्। कोलकातामा रहेको बाँकी मल पनि क्रमशः नेपाल भित्रिने क्रममा रहेको कम्पनीले जनाएको छ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कुल ३ लाख ८६ हजार मेट्रिक टन मल बिक्री भएको थियो भने चालू आर्थिक वर्षको साउन १२ गतेसम्म १८,९१७ मेट्रिक टन मल बिक्री भइसकेको छ। सरकारको यो तत्परताले यस वर्षको रोपाइँमा मलको अभाव कम हुने विश्वास गरिएको छ।