१२ श्रावण २०८३, मंगलवार

प्राविधिक शिक्षा र द्विपक्षीय सहकार्यबारे शिक्षामन्त्री र कोरियाली राजदूतबीच छलफल

37

काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइ योङबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा शिक्षा, सूचना प्रविधि र प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले आगामी पाँच वर्षभित्र शिक्षा क्षेत्रमा कुल बजेटको १५ प्रतिशत विनियोजन गर्ने लक्ष्य राखेको जानकारी दिँदै भन्नुभयो, “कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा पनि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता उत्तिकै रहन्छ, त्यसैले हामीले यस क्षेत्रमा लगानी र सहकार्यलाई प्राथमिकता दिएका छौँ।”

मन्त्री पोखरेलले विश्वविद्यालयहरूबीच ‘फ्याकल्टी एक्सचेन्ज’ कार्यक्रम र नेपाली तथा कोरियाली कम्पनीहरूबीचको सहकार्यबाट प्राविधिक शिक्षाको विकास गर्न सकिने धारणा राख्नुभयो।

कोरियाली राजदूत पार्क तइ योङले नेपालको शिक्षा सुधार र आर्थिक रूपान्तरणमा कोरिया सरकारको सधैँ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। दक्षिण कोरियाले शिक्षालाई उच्च प्राथमिकता दिएकै कारण छोटो समयमा आर्थिक विकास हासिल गरेको उल्लेख गर्दै उहाँले कोरियामा पनि शिक्षामा कुल बजेटको करिब १५ प्रतिशत लगानी हुने गरेको जानकारी दिनुभयो।

हाल दक्षिण कोरिया सरकारले नेपालमा विद्यालय तथा उच्च शिक्षाका साथै मधेश र गण्डकी प्रदेशमा पोलिटेक्निक संस्थानहरूको पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ। भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आगामी दिनमा हुने प्राज्ञिक सहकार्यका सम्भावनाबारे पनि विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.