पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना, सुरक्षित स्थानान्तरणका लागि पहल गर्ने आश्वासन
नुवाकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो तथा प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ।
आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गतेको वर्षाले पुर्याएको क्षतिको अवस्था बुझ्न मन्त्री तिमिल्सिना त्यहाँ पुग्नुभएको हो। निरीक्षणका क्रममा उहाँले प्रभावित स्थानीयसँग भेट गरी उनीहरूको समस्या र आवश्यकताका बारेमा जानकारी लिनुभयो।
विशेषगरी पञ्चकन्या–४ को बोकेडाँडा लगायतका जोखिमपूर्ण बस्तीका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको माग गरेका छन्। मन्त्री तिमिल्सिनाले ती क्षेत्रको प्राविधिक अध्ययन गरी बस्ती बस्न अनुपयुक्त देखिएमा सुरक्षित स्थानमा स्थानान्तरणका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।
निरीक्षणमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र प्रमुख जिल्ला अधिकारीसहितको टोली सहभागी थियो। मन्त्री तिमिल्सिनाले तीनै तहका सरकारको समन्वयमा प्रभावितको तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापन गरिने बताउनुभयो।