बूढीगण्डकीको बाढीले अवरुद्ध सडक खुल्यो, स्थायी निर्माणका लागि अध्ययन गरिने
धादिङ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकखण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ।
पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको छ।
अब सडकको स्तरोन्नति र स्थायी निर्माणका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।