एनटी फाइबरको सस्तो प्याकेजमा आकर्षण, अनलाइनबाटै सेवा अनुरोध गर्न सकिने
काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्याकेज उपलब्ध गराएपछि ग्राहकको आकर्षण बढेको छ। नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन १९८ नम्बरमा ग्राहकको चाप बढेपछि टेलिकमले अनलाइनबाटै सेवा अनुरोध तथा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
ग्राहकले complain.ntc.net.np मा लगइन गरी आफ्नो मोबाइल नम्बरमार्फत आवश्यक विवरण पेस गर्न सक्नेछन्। साथै, १९८ नम्बरमा सम्पर्क गरेर आफ्नो क्षेत्रमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सकिनेछ।
टेलिकमले हालै रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज उपलब्ध गराएको छ। ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेजसमेत उपलब्ध रहेको टेलिकमले जनाएको छ। तुलनात्मक रूपमा कम शुल्कमा उच्च गतिको इन्टरनेट चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका छन्।