क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले कारण सार्वजनिक गर्नुपर्छ : मन्त्री पोखरेल
२२ असोज, काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएका छन्।
त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा बोल्दै मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन–अध्यापन, परीक्षा तथा नतिजा प्रकाशनलगायतका सबै प्रक्रिया निर्धारित समयतालिकाअनुसार सञ्चालन गर्नुपर्ने बताए।
कुनै कारणले शैक्षिक क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा समेत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले विद्यार्थीले कति लेख्योभन्दा पनि कति सिक्यो भन्ने मापन हुने गरी परीक्षा प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए। रटेको ज्ञानभन्दा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान र व्यावहारिक दक्षता विकासमा विश्वविद्यालयले ध्यान दिनुपर्ने उनले बताए।
त्यस्तै, नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई प्राथमिकता दिन र कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिको जिम्मेवार प्रयोग गर्न पनि उनले आग्रह गरे।