२७ भाद्र २०८३, शनिबार

सपनाको सहरमै अस्ताए १८ वर्षीय विजय: सात महिना न पुग्दै चुँडियो एउटा सुन्दर भविष्य

79

कोलोराडो, अमेरिका ।
एउटा सुन्दर भविष्यको सपना, परिवारको आशा र आँखाभरि रंगीन रहरहरू बोकेर सात महिनाअघि मात्र अमेरिका उडेका १८ वर्षीय विजय पाण्डेको जीवन-यात्रा कहिल्यै नफर्कने गरी समाप्त भएको छ। जुन देशमा उनले आफ्नो र आफ्नो परिवारको भाग्य बदल्ने सपना बुनेका थिए, त्यही देशको सडकले उनको जीवनको अध्याय ७ महिनामै सदाका लागि बन्द गरिदिएको छ।

नेपालको स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका, विर्गा, अर्चले निवासी बुबा गणेशप्रसाद पाण्डे र आमा संगीता भट्टराईका जेठा छोरा विजयको यो असामहिक निधनले परिवारमा मात्र होइन, प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायमा ठुलो बज्रपात परेको छ। घरको जेठो छोरो परदेशमा जम्दै गर्दा खुसी हुनुपर्ने बाबु-आमा अहिले छोराको वियोगमा छटपटाइरहेका छन् भने आमा अचेत अवस्थामा रहेकी छिन । नाति गुमाएको वियोगमा यता नेपालमा रहेका हजुरबुवा हजुरआमा पनि अचेत अवस्थामा हुनुहुन्छ।

त्यो कालरात्रीको घटना
प्राप्त विवरणअनुसार, गत अगस्ट २९ गते राति करिब १:३० बजे आफ्नो काम सकेर कोठातर्फ फर्कँदै गर्दा विजयलाई एउटा गुडिरहेको टेस्ला गाडीले ठक्कर दिएको थियो। दिनभरिको थकाइ मारेर आराम गर्न हिँडेका विजय कहिल्यै कोठा पुग्न सकेनन्। दुर्घटना यति भयानक थियो कि घटनास्थलमै उनको मृत्यु भयो।

जेफरसन काउन्टी कोरोनर अफिस (Jefferson County Coroner’s Office) ले पाण्डेको मृत्युको पुष्टि गर्दै ‘भेरिफिकेसन अफ डेथ’ पत्र जारी गरिसकेको छ। हाल उनको पार्थिव शरीर अस्पतालमै छ र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विजयका बुबा-आमा हाल नेपालमै छन्। अमेरिकामा उनका १७ वर्षीय भाइ मात्र छन्, जसका लागि आफ्ना दाजुको यो बिछोड सहन नसकिने पीडा बनेको छ। पराई भूमिमा आफ्ना अभिभावक नभएको बेला भाइले भोग्नुपरेको यो एक्लोपन र मानसिक पीडा वर्णन गर्न नसकिने छ।

सहयोगका लागि मानवीय अपिल
विजयका बुबा-आमा नेपालबाट अमेरिका आएपछि मात्र उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ। अस्पतालको खर्च, कानुनी प्रक्रिया र अन्त्येष्टि व्यवस्थापनका लागि ठूलो आर्थिक भार परेको छ। यसै सन्दर्भमा कोलोराडोको नेपाली समुदाय, नेपाली घर, र NRNA कोलोराडो च्याप्टर लगायतका संघसंस्थाहरूले सहयोगको हात बढाउन अपिल गरेका छन्।

सन्तोष पाण्डेको नामबाट ‘GoFundMe’ मार्फत आर्थिक संकलन सुरु गरिएको छ। “हामीसँग उनको जीवन फर्काउने सामर्थ्य छैन, तर उनको परिवारको घाउमा केही मलम लगाउने सामर्थ्य अवश्य छ ।”

मानवता र नेपाली संस्कारको नाताले यो कठिन घडीमा पाण्डे परिवारलाई एक्लो महसुस हुन नदिन थोरै भए पनि सहयोग गर्न र यो समाचारलाई धेरैभन्दा धेरै माझ पुर्‍याउन अनुरोध गरिएको छ। तपाईँको सानो सहयोग एउटा पीडित परिवारका लागि ठूलो सहारा बन्न सक्छ।

अल्पायुमै ज्यान गुमाएका स्वर्गीय विजय पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना !

https://www.gofundme.com/f/-d3d4c?attribution_id=sl%3A6153d134-ffe4-4c0d-8954-d1af1b07a8a1&lang=en_US&ts=1788452325&utm_campaign=fp_sharesheet&utm_content=amp30-treatment-5&utm_medium=customer&utm_source=copy_link&cp_src=d

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.