२७ भाद्र २०८३, शनिबार

बाढी पीडितको समाचार सम्प्रेषणमा संवेदनशील बन्न सञ्चारमन्त्री र प्रेस काउन्सिलको आग्रह

30

काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको समाचार, तस्वीर र भिडियो सार्वजनिक गर्दा मानवीय मर्यादा, गोपनीयता र संवेदनशीलताको पूर्ण ख्याल गर्न आग्रह गर्नुभएको छ। विशेषगरी होल्डिङ सेन्टरमा रहेका सुत्केरी, बालबालिका र परिवारका सदस्य गुमाएका व्यक्तिको अनुमतिबिना तस्वीर वा भिडियो खिच्ने र सार्वजनिक गर्ने कार्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने उहाँले बताउनुभयो।

मन्त्री तिमिल्सिनाले आधिकारिक निकाय (गृह मन्त्रालय, जिल्ला प्रशासन, सुरक्षा निकाय) बाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र अपुष्ट वा एआई (AI) बाट सिर्जित भ्रामक सामग्री सम्प्रेषण नगर्न समेत सचेत गराउनुभएको छ। “बीभत्स दृश्य र हृदयविदारक सामग्रीले पीडितको परिवारलाई थप मानसिक पीडा दिने भएकाले यस्ता सामग्री पोस्ट वा रिपोस्ट नगर्नुहोस्,” उहाँले आग्रह गर्नुभयो।

यसैबीच, प्रेस काउन्सिल नेपालले पनि बाढी प्रभावित बालबालिकाको असहाय अवस्था प्रदर्शन गर्ने सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बालमैत्री सञ्चार निर्देशिका, २०७३ विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई निगरानीमा राखिएको र आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गरिने काउन्सिलले स्पष्ट पारेको छ।

विपद्को समयमा समाजमा त्रास फैलाउने सामग्रीभन्दा सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न सरकार र प्रेस काउन्सिल दुवैले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अपिल गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.