२८ भाद्र २०८३, आईतवार

त्रिशूली ३ ए को सुरुङ खुलाउने कार्य तीव्र: ३ फिट मुख खुल्यो, ठूला ढुंगा ब्लास्टिङ गरिँदै

61

नुवाकोट ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ। बाढीले पुरेको सुरुङभित्र मानिसहरू फसेको आशंकामा खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ।

नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको विशेष टोली उद्धारमा खटिएको छ। उद्धार कार्यका लागि ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरहरू परिचालन गरिएको छ।

४० मिटर लामो डेब्रिस पन्छ्याइँदै
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामका संरचना तथा ठूला ढुंगाहरू (डेब्रिस) थुप्रिएका छन्। रातदिनको निरन्तर प्रयासपछि सुरुङको माथिल्लो भागबाट करिब ३ फिट मुख खुलाउन सफलता मिलेको छ। योसँगै उद्धार टोली सुरुङभित्र १५-२० मिटरसम्म प्रवेश गरिसकेको छ।

ठूला ढुंगा ब्लास्टिङको तयारी
एक्स्क्याभेटर र अन्य ठूला मेसिनहरू भित्र पठाउन सुरुङको मुख पूरै खुलाउनुपर्ने हुन्छ। त्यसका लागि त्यहाँ बाँकी रहेका थप ७ वटा ठूला ढुंगाहरू (बोल्डर) ब्लास्टिङ गर्ने तयारी भइरहेको छ।

करिब १७० मिटर लामो यो सुरुङ हाल माटो र लेदोले भरिएको छ। उद्धार टोलीले यो लेदो छिचोलेर अघि बढेपछि मात्रै पावरहाउसलगायत अन्य मुख्य संरचनाहरूमा पुग्न सकिने जानकारी दिएको छ। बाढीले आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू पुरिएपछि त्यहाँ फसेकाहरूको खोजीका लागि यो कार्य चुनौतीपूर्ण र संवेदनशील बनेको छ।

Author

Leave A Reply

Your email address will not be published.