टिभेट सुधारमा स्वीस सरकारको सहयोग जारी रहने, शिक्षामन्त्रीसँग भेटवार्ता
काठमाडौँ, ८ भदौ : शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रको सुधार तथा आगामी सहकार्यका विषयमा छलफल भयो । मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै टिभेट ऐन निर्माणको प्रक्रियामा रहेको र यस क्षेत्रको सुशासन र दक्ष जनशक्ति विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यवाहक राजदूत मायरले नेपालको टिभेट क्षेत्रमा स्वीस सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्राविधिक शिक्षालाई थप प्रभावकारी बनाउन उद्योग र तालिम प्रदायक संस्थाबीच समन्वय तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपालको प्राविधिक शिक्षासम्बन्धी नीति र तथ्याङ्क व्यवस्थापन राम्रो रहेको भन्दै सुधारप्रति आशा व्यक्त गर्नुभयो ।