जेमिनी रिसाइकल नेपालले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, ईभी ब्याट्री रिसाइकलमा केन्द्रित हुने
विराटनगरस्थित जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको विशेष साधारण सभाले जारी पूँजी ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको हो।
सभाले संस्थापक शेयरको मूल्य १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता १९० रुपैयाँ कायम गरेको छ। व्यवसायिक घराना दिवाकर राठी र आकाश गोल्छाको नेतृत्व रहेको यस कम्पनीमा विभिन्न संस्थागत लगानीकर्ताहरूको समेत सहभागिता छ।
हाल पुराना ब्याट्री, प्लास्टिक र धातुजन्य सामग्री रिसाइकल गरी भारत निर्यात गर्दै आएको यस कम्पनीले भविष्यमा नेपालमा बढ्दो विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगलाई मध्यनजर गर्दै ‘ईभी ब्याट्री रिसाइकलिङ’ लाई नयाँ योजनाको रूपमा अघि सारेको छ।
वातावरण संरक्षण र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको जेमिनीले ‘पब्लिक–प्राइभेट पार्टनरसिप’ (PPP) मोडलमार्फत आधुनिक प्रविधिको प्रयोग गरी फोहोर संकलन र व्यवस्थापन गर्ने लक्ष्य समेत लिएको छ। यसबाट एकातिर फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र अर्कोतर्फ कच्चा पदार्थको आयात घट्ने अपेक्षा गरिएको छ।