२८ भाद्र २०८३, आईतवार

मकालु वाईनको विशेष साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि आईपीओ जारी गर्ने संस्थापक शेयरको प्रिमियम मुल्य निर्धारण

126

ईटहरी ,२३ श्रावण । मकालु वाईन ईण्डस्ट्रीजले होटल सोल्टी ,वेस्टटेण्ड ईटहरीमा विशेष साधारण सभा सम्पन्न गरेको छ। आईपिओ निस्कासनको तयारी गरिरहेको कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।

आईपीओ निष्काशनका लागि कम्पनीले यस अघि नै रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। विशेष साधारण सभाले संस्थापक शेयरको अंकित मूल्यमा प्रतिशेयर १२५ रुपैयाँ प्रिमियम थप गरी मूल्य कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३, संखुवासभामा स्थापना भएको मकालु वाईन इन्डस्ट्रीजले विगत ३१ वर्षदेखि समुन्द्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक “हिंवा वाईन” उत्पादन गर्दै आएको छ। यो नेपालको पहिलो वाईन कम्पनी हो।हाल कम्पनीले आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरीय जंगलको चुत्रोको हिंवा रातो र ऐंशेलुको सेतो ७५० मिलि लिटर र ४ लिटरको वाईन उत्पादन गर्दै आएको छ।

कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेञ्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका ७५० मिलिमिटरको प्रिमियम वाईन बजारमा ल्याउने तयारी समेत गरिरहेको जनाएको छ।

आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.