१२ श्रावण २०८३, मंगलवार

नेपालमा ९ वर्ष कैद भुक्तान गरेका अमेरिकी नागरिक अमेरिकाको अदालतबाट पनि दोषी ठहर

18

काठमाडौँ । नेपालमा बालयौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय काटेर फर्किएका ५८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले पनि दोषी ठहर गरेको छ। अमेरिकी न्याय विभागले शुक्रबार एक सूचना जारी गर्दै कुम्ब्सलाई नेपालमा गरेको बालयौन दुराचारको कसुरमा दोषी ठहर गरिएको जानकारी दिएको हो।

सन् २०१६ (२०७३ भदौ) मा काठमाडौँको ठमेलस्थित एक होटलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो। उनले नेपालमा ८ जना बालबालिकालाई नशालु पदार्थ खुवाएर, बल प्रयोग गरी र पैसाको प्रलोभनमा पारेर यौन दुर्व्यवहार गरेको पुष्टि भएको थियो। काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार ९ वर्षको जेल सजाय काटेर अमेरिका फर्किए लगत्तै उनलाई अमेरिकी कानुन अनुसार पुनः पक्राउ गरिएको थियो।

हिरासतमै रहेका कुम्ब्सलाई अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको छ। यस अनुसन्धानमा सहयोग गरेकोमा अमेरिकी न्याय विभागले नेपाल प्रहरीको सीआईबी, नेपालस्थित अमेरिकी दूतावास, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र गैरसरकारी संस्था ‘नयाँ पाइला’प्रति आभार व्यक्त गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.