गोलभेँडाको बजार व्यवस्थापनमा मन्त्री चौधरी सक्रिय, उपत्यकाको उत्पादन बाहिर निकासी हुन थाल्यो
काठमाडौँ ।
उपत्यकामा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउने र बजारमा अधिक उपलब्धताका कारण खेर जाने अवस्था सिर्जना भएपछि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बजार व्यवस्थापनका लागि सक्रियता देखाउनुभएको छ। मन्त्री चौधरीको विशेष निर्देशनमा उपत्यकामा बढी भएको गोलभेँडालाई अन्य बजारहरूमा निकासी गर्न सुरु गरिएको छ।
किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण सुनिश्चित गर्न मन्त्री चौधरीले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग सघन छलफल गर्नुभएको थियो। सोही समन्वयका आधारमा उपत्यकाको गोलभेँडालाई बाहिर पठाउने प्रक्रिया अघि बढाइएको हो।
दुई दिनमा ५० टन बढी गोलभेँडा निकासी
कालीमाटी अन्तर्गतका ११ वटा संघीय कृषि बजारहरूसँग समन्वय गरी उपत्यका बाहिर गोलभेँडा पठाउने कार्य भइरहेको छ। प्राप्त विवरण अनुसार, गत असार ३१ गते कालीमाटी बजारबाट २१.५५ टन र अन्य कृषि फर्महरूबाट १५.१० टन गरी जम्मा ३६.६५ टन सानो गोलभेँडा उपत्यका बाहिर पठाइएको छ।
त्यसैगरी, साउन ३२ गते कालीमाटी र अन्य केन्द्रहरूबाट थप १४ टन सानो (टनेल) गोलभेँडा बाहिरी जिल्लाका बजारमा निकासी भएको छ। मन्त्रालयले यसको तथ्याङ्क संकलन र अनुगमनका लागि छुट्टै संयन्त्र समेत परिचालन गरेको छ।
दीर्घकालीन समाधानको योजना
मन्त्री चौधरीले किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउन बजार व्यवस्थापन र वैकल्पिक बजार विस्तारलाई प्राथमिकतामा राख्नुभएको छ। उहाँले तत्कालको निकासी सहजीकरणसँगै दीर्घकालीन रूपमा सुरक्षित भण्डारण (Cold Storage), प्रशोधन केन्द्रहरूको स्थापना र बजारको मागमा आधारित उत्पादन प्रणाली (Production based on Market Forecast) विकासमा जोड दिनुभएको छ।
यसका लागि अन्तरमन्त्रालय समन्वय गरी ठोस योजना ल्याउने तयारी भइरहेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। बजार व्यवस्थापनको यो कदमसँगै उपत्यकाका टमाटर किसानहरूले राहत पाउने अपेक्षा गरिएको छ।