अन्तर्राष्ट्रिय पदक विजेता १०१ खेलाडीलाई सरकारले साढे १० करोड पुरस्कार दिने, मन्त्रिपरिषद्द्वारा प्रस्ताव स्वीकृत
काठमाडौँ, ३१ असार ।
सरकारले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर देशको नाम राख्न सफल नेपाली खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले १०१ जना खेलाडी तथा खेलकर्मीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२)’ अनुसार तयार पारेको पुरस्कारको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । यो नेपाली खेलकुद इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार राशि भएको मन्त्रालयले जनाएको छ ।
को-को हुँदैछन् पुरस्कृत ?
पुरस्कृत हुने १०१ जनाको सूचीमा खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरू समावेश छन् । पुरस्कार पाउने मुख्य प्रतियोगिता र टोलीहरू यस प्रकार छन्:
-
खो-खो: भारतमा सम्पन्न प्रथम खो-खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ र पुरुष टोलीका १८ खेलाडी ।
-
क्रिकेट: मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेता १७ खेलाडी र ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४ मा स्वर्ण जित्दै विश्वकपमा छनोट भएका २० खेलाडी ।
-
बडी बिल्डिङ: मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङका ४ पदक विजेता र थाइल्यान्डमा सम्पन्न ५७औँ च्याम्पियनसिपका १ कास्य पदक विजेता ।
-
तेक्वान्दो र रेस्लिङ: मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दोका ३ कास्य पदक विजेता र युडब्लु एसियन बेल्ट रेस्लिङका ३ कास्य पदक विजेता ।
-
अन्य खेलहरू: बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का ९ पदक विजेता (स्वर्ण र कास्य), चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्सको कबड्डी महिला टोलीका ७ खेलाडी र श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्टका १ स्वर्ण पदक विजेता ।
खेलाडीको उत्साह बढ्ने विश्वास
सरकारले खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठूलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार पारिएको यस सूचीमा रहेका सबै पदक विजेताहरूलाई छिट्टै एक विशेष समारोहका बीच सम्मान गरिने मन्त्रालयले जनाएको छ ।
यस निर्णयले अन्तर्राष्ट्रिय स्तरमा देशको झण्डा फहराउने खेलाडीहरूको मनोबल उच्च बनाउने र नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।