प्रविधिको युगमा पनि साहित्य नै सभ्यता बुझ्ने सशक्त माध्यम : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कृत्रिम बौद्धिकता (AI) र प्रविधिको वर्तमान युगमा पनि मानव सभ्यता, संवेदना र जीवन-जगत बुझ्न साहित्य नै सबैभन्दा सशक्त माध्यम रहेको बताउनुभएको छ।
काठमाडौँमा आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले प्रविधि र एल्गोरिदमले निर्देशित विश्वमा साहित्यले मानिसलाई आत्मचिन्तन र मानवीय सम्बन्धसँग जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
“सूचना प्रविधिको युगमा हामी भौतिक रूपमा जोडिए पनि एकअर्कालाई बुझ्ने क्षमतामा साहित्यले नै विकास गर्छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “सरकारले भौतिक पूर्वाधार बनाउन सक्छ, तर लेखक र कलाकारले राष्ट्रको भित्री जीवन (Inner Life) निर्माण गर्छन्।”
आफ्नो साहित्यिक यात्रा र रेडियो कार्यक्रम सञ्चालनको अनुभव सुनाउँदै उहाँले साहित्य र सङ्गीतले राजनीतिक र भौगोलिक सीमाभन्दा पर पुगेर सम्बन्ध विस्तार गर्न सक्ने बताउनुभयो। नेपालको भाषिक तथा सांस्कृतिक विविधताले साझा पहिचानलाई समृद्ध बनाएको चर्चा गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय साहित्यिक मेलाले नेपाली हिमाल, संस्कृति र कथालाई विश्व समुदायसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
भानुभक्तदेखि देवकोटासम्मको परम्परालाई अहिलेको पुस्ताले समकालीन चुनौतीसँग जोड्दै अघि बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।