झापामा कुटपिटबाट एक जनाको मृत्यु, हत्या आरोपी पक्राउ
झापा । झापाको मेचीनगरमा आपसी विवादका क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय राम बहादुर गौतमलाई पक्राउ गरेको हो ।
तनहुँ घर भई सोही ठाउँस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्ने गौतमले आइतबार राति सामान्य विवादका क्रममा श्रेष्ठलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले गौतमलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।