रास्वपा सभापति लामिछानेसँगको भेटपछि मोदीले भने- ‘नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ’
काठमाडौं/नयाँ दिल्ली:
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। भेटघाटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटबाट आफू हर्षित भएको बताएका छन्।
प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई आफूले स्वागत गर्ने र त्यसमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्।
सोही क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धको चर्चा गर्दै नेपाल भारतको ‘छिमेकी प्रथम’ (नेबरहुड फर्स्ट) नीतिको प्राथमिकतामा पर्ने साझेदार राष्ट्र भएको बताएका छन्।
दुई देशबीच रहिआएको विशेष र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नेपालको नयाँ सरकारसँग नजिक रहेर सहकार्य गर्न भारत प्रतीक्षारत रहेको समेत मोदीले उल्लेख गरेका छन्।