३ बैशाख २०८३, बिहीबार

बालेनको उदय र हर्कको ’इष्र्या’ : स्वतन्त्रताको राजनीतिमा व्यक्तिगत टकराब

153

– राजु देवकोटा

नेपाली राजनीतिको रङ्गमञ्चमा केही समय अघिसम्म बालेन्द्र शाह (बालेन) र हर्क साम्पाङ राई दुई यस्ता नाम थिए, जसलाई जनताले वैकल्पिक राजनीतिको आशाका किरण मानेका थिए । काठमाडौँ र धरानका यी दुई स्वतन्त्र मेयरहरूबीचको सुरुवाती मित्रता र सद्भावले धेरैलाई उत्साहित बनाएको थियो । तर, समयको फेरोसँगै बालेनको राजनीतिक कद मेयरबाट प्रधानमन्त्रीसम्म पुग्दा उनीहरूबीचको त्यो मित्रता अहिले तीतोपन र राजनीतिक ’इष्र्या’मा परिणत भएको देखिन्छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गढ झापामा पराजित गरी बालेनले मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्नु नेपालको संसदीय इतिहासमै एउटा अप्रत्याशित र ऐतिहासिक मोड थियो । तर, बालेनको यो सफलतामा उनका ’पुराना सहयात्री’ हर्क साम्पाङले भने खुसी व्यक्त गर्न सकेको देखिएन । बरु, प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व नै हर्कले सामाजिक सञ्जालमार्फत बालेनलाई प्रधानमन्त्री स्वीकार्न नसकिने र रवि लामिछाने नै उपयुक्त पात्र भएको तर्क अघि सारेका थिए ।

राजनीतिक वृत्तमा यतिबेला हर्क साम्पाङको व्यवहारलाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएका छन् । विशेष गरी, प्रधानमन्त्री बालेनले प्रदेश सांसदहरूसँग समन्वय र छलफलका लागि सिंहदरबारमा बोलाएको बैठकलाई हर्कको समूहले बहिष्कार गर्नुले धेरै प्रश्न उब्जाएको छ । हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले यसलाई ’कोठे बैठक’को संज्ञा दिँदै संसद आह्वानको माग राखेर बैठकमा अनुपस्थित हुनुले एकातर्फ प्रक्रियागत असन्तुष्टि देखाए पनि अर्कातर्फ यसलाई हर्कको व्यक्तिगत ’घमण्ड’ र ’भित्री इष्र्या’को रूपमा व्याख्या गर्न थालिएको छ ।

कुनै समय एउटै कित्ताका मानिने यी दुई पात्रहरूबीच अहिले देखिएको यो दूरीले नेपाली राजनीतिमा एउटा पुरानो रोग ’व्यक्तित्वको टकराव’ लाई फेरि उजागर गरेको छ । बालेनले संस्थागत रूपमा अगाडि बढाउन खोजेको छलफलमा सहभागी नहुनु र बाहिर बसेर विरोध मात्र गरिरहनुले हर्क साम्पाङले आफ्नो राजनीतिक उचाइभन्दा व्यक्तिगत अहम्लाई प्राथमिकता दिएको त होइन भन्ने शंका गर्ने ठाउँ प्रशस्त छ ।

लोकतन्त्रमा विमति राख्न पाइन्छ, तर राज्यका संयन्त्र र संस्थागत प्रक्रियाहरूलाई नै बेवास्ता गर्नुले अन्ततः जनताको समस्या समाधान गर्ने बाटो नै अवरुद्ध पार्छ । प्रधानमन्त्रीको हैसियतमा बालेनले चालेका कदमहरूमा रचनात्मक आलोचना गर्न सकिन्छ, तर ’ईष्र्या’को भाव राखेर गरिने बहिष्कारले हर्कको आफ्नै साख गिराउने जोखिम देखिन्छ । स्वतन्त्र उम्मेदवारका रूपमा विजय प्राप्त गर्दा जुन जनलहर र आशा उनीहरूमाथि थियो, त्यसलाई व्यक्तिगत इगोको कारण धुमिल हुन नदिनु नै अहिलेको मुख्य चुनौती हो ।

अन्त्यमा, हर्क साम्पाङले बुझ्नुपर्ने कुरा के हो भने– बालेन अहिले केवल एक व्यक्ति मात्र नभएर मुलुकको प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित भएर उनले बालेनलाई मात्र होइन, आफूलाई जिताउने जनताको आवाज पु¥याउने अवसरलाई पनि लत्याएका छन् । राजनीतिक यात्रामा सहकार्य र संवादको ढोका सधैँ खुला राख्नु नै परिपक्व राजनीतिको परिचायक हो

Author

Leave A Reply

Your email address will not be published.