भाजपाको निमन्त्रणामा रवि लामिछाने ५ दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा उनी नयाँ दिल्लीतर्फ लागेका हुन् ।
जेठ १८ देखि २२ गतेसम्म हुने यस भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भाजपाका शीर्ष नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग छलफल गर्ने रास्वपाले जनाएको छ । राजनीतिक भेटघाटबाहेक उनले अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका रहेको छ ।
भ्रमण टोलीमा लामिछानेसँगै सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भ्रमणका बारेमा फर्किएपछि विस्तृत जानकारी दिने बताए ।
यो भ्रमणको समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ । लामिछाने आगामी २२ गते (जुन ५ तारिख) मा स्वदेश फर्किनेछन् ।