माउन्टेन इनर्जीको नाफा ५४ करोड १४ लाख, ईपीएस १७.३४ रुपैयाँ
माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र आम्दानी दुवैमा वृद्धि गरेको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको खुद नाफा पनि अघिल्लो वर्षको तुलनामा ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख रुपैयाँ कायम भएको छ। ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको यस कम्पनीको ब्याज खर्चमा समेत गिरावट आएको छ।
२० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। पुँजी बढे पनि कम्पनीले १७.३४ रुपैयाँको आकर्षक प्रतिसेयर आम्दानी (EPS) कायम राख्न सफल भएको छ। हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.६८ रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।