९ आश्विन २०८३, शुक्रबार

पोखरा–दुबई नियमित उडान सुरु, अब निरन्तरताको चुनौती

32

पोखरा । लामो समयदेखि पोखरेलीले देख्दै आएको पोखराबाट सिधै विदेश उड्ने सपना बुधबारदेखि केही हदसम्म पूरा भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि फ्लाईदुबईको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार फ्लाईदुबईको बोइङ ७३७–MAX ८ विमान ११३ यात्रुसहित बुधबार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको थियो। सोही विमान १५२ यात्रुसहित साँझ ७ः४५ बजे दुबईका लागि प्रस्थान गरेको कार्यालयले जनाएको छ।

स्वीकृत उडान तालिकाअनुसार फ्लाईदुबईले दैनिक दुबई–पोखरा–दुबई उडान गर्नेछ। १६६ सिट क्षमताको विमानबाट हुने यो उडानले पोखरालाई पहिलोपटक नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।

उद्घाटन भएको साढे तीन वर्षपछि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते अर्थात् सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।

विमानस्थल सञ्चालनमा आएपछि विभिन्न समयमा अन्तर्राष्ट्रिय चार्टर तथा विशेष उडान भए पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन। त्यसका कारण विमानस्थलको उपयोगिता र भविष्यबारे प्रश्नसमेत उठ्दै आएको थियो।

पोखराबाट चीन र भुटानलगायत गन्तव्यमा चार्टर उडान भएका थिए। तर नियमित उडान नहुँदा पोखरेलीले लामो समयदेखि पर्खिरहेको अन्तर्राष्ट्रिय हवाई सेवा व्यवहारमा आउन सकेको थिएन।

फ्लाईदुबईको दैनिक उडान सुरु भएपछि भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानतर्फ पहिलो ठोस कदम अघि बढाएको छ।

अब मुख्य प्रश्न–उडान निरन्तर हुन्छ कि हुँदैन ?

फ्लाईदुबईको उडान सुरु हुनु पोखरा र गण्डकीका लागि खुसीको विषय भए पनि यसको निरन्तरता नै मुख्य चुनौती हुनेछ। विगतमा अन्तर्राष्ट्रिय उडानको प्रयास भए पनि नियमित रूपमा टिक्न नसकेका कारण अहिले सुरु भएको उडान पनि दीर्घकालीन रूपमा कसरी सञ्चालन हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

नियमित उडान टिकाउन पर्याप्त यात्रु आवश्यक हुन्छ। त्यसका लागि पोखरा मात्र नभई समग्र गण्डकी प्रदेश तथा आसपासका जिल्लालाई अन्तर्राष्ट्रिय हवाई यात्रासँग जोड्नुपर्ने हुन्छ।

हवाई रुट र सञ्चालन लागत पनि चुनौती

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तारका लागि उपयुक्त अन्तर्राष्ट्रिय हवाई रुट प्राप्त गर्नु अर्को महत्वपूर्ण चुनौती हो। विमानस्थल बनेर मात्र अन्तर्राष्ट्रिय उडान विस्तार हुँदैन। विदेशी विमान कम्पनीलाई सहज र प्रतिस्पर्धी हवाई मार्ग, सञ्चालन वातावरण तथा आवश्यक प्राविधिक सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ।

पोखराबाट थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न सके विमानस्थलको व्यावसायिक सम्भावना अझ बढ्नेछ।

पर्यटनको केन्द्र पोखरा

पोखरा नेपालको प्रमुख पर्यटन सहर हो। फेवाताल, सराङकोट, विश्वशान्ति स्तूप, अन्नपूर्ण क्षेत्र तथा आसपासका विभिन्न पर्यटकीय गन्तव्यका कारण पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको निरन्तर आवागमन हुने गर्छ।

पोखराबाटै अन्तर्राष्ट्रिय उडान उपलब्ध हुँदा विदेशी पर्यटकलाई काठमाडौं हुँदै पोखरा आउनुपर्ने बाध्यता घट्न सक्छ। यसबाट होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ व्यवसाय, यातायात, गाइड, हस्तकला र अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ।

त्यसैगरी पोखरा र गण्डकी क्षेत्रमा उत्पादित कृषि तथा अन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावना पनि बढ्न सक्छ।

अब थप गन्तव्य र एयरलाइन्स आवश्यक

एउटा एयरलाइन्सको नियमित उडान सुरु हुनु सकारात्मक सुरुवात भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो बनाउन थप अन्तर्राष्ट्रिय गन्तव्य र थप वायुसेवा कम्पनी आकर्षित गर्नुपर्ने देखिन्छ।

दुबईसँगको नियमित हवाई सम्पर्कले पोखरालाई मध्यपूर्व हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बाटो खोल्न सक्छ। त्यससँगै भारत, चीन, दक्षिण–पूर्वी एसिया तथा अन्य पर्यटकीय बजारमा समेत पोखराबाट सीधा हवाई सम्पर्क विस्तार गर्न सके विमानस्थलको व्यावसायिक उपयोग बढाउन सकिनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीन वर्षभन्दा बढी समयपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। त्यसैले बुधबार अवतरण गरेको फ्लाईदुबईको विमान पोखरेलीको लामो प्रतीक्षाको सुरुवात मात्र हो कि नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको नयाँ अध्यायको आधार बन्छ भन्ने कुरा अबको यात्रुले निर्धारण गर्नेछ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.